विभिन्न षड्यन्त्र गरेर चुनाव भाँड्ने काम नगर्न पुराना दललाई रवि लामिछानेको चेतावनी



नेपाल दर्पण, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलहरुलाई चेतावनी दिएका छन । उनले पुराना पार्टीहरुलाई विभिन्न षड्यन्त्र गरेर र घटना घटाएर चुनाव भाँड्ने काम नगर्न चेतावनी दिएका हुन् । लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न सक्षम र सबल रहेको दावी गर्दै पुराना राजनीतिक दलहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन् । उनले पुराना राजनीतिक दलहरुले देशलाई निराशातर्फ धकेलेको आरोप पनि लगाए ।
सोमवार काठमाडौँमा आयोजित बृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना राजनीतिक दलका नेताहरूले नयाँ पुस्ताप्रति शंका गर्ने गरेको उल्लेख गर्दै देशलाई संकटबाट जोगाउन नयाँ पुस्ता सक्षम रहेको बताए । उनले बजेट भाषणमा मात्र सीमित रहने संसदलाई जनचासोको केन्द्र बनाउने पार्टी नै रास्वपा भएको जिकिर पनि गरे । उनले बिग्रिएको अर्थतन्त्र, कमजोर बनेको वैदेशिक सम्बन्ध र खस्किएको राष्ट्रिय मनोबललाई उकास्ने दावीसहित नयाँ पुस्ता मिलेर अघि बढिरहेको पनि बताए ।
साथै, उनले बालेन्द्र शाहको उदयले राजनीतिमा युवाहरुको चासो बढाएको बताए । बालेन्द्र शाहको उदयले नेपालको राजनीतिले नयाँ झँकार सुरु गरेको पनि उनले बताए । त्यही अभियानमा अगाडि बढ्दै आफूहरु यहाँसम्म आइपुगेको उनले बताए । साथै, जेन–जी आन्दोलनमा क्षति नभएको भए हुन्थ्यो भन्ने आफूहरुलाई लागेको पनि उनले बताए । तर, त्यस्तो किसिमको चरणमा जाँदै छ भनेर रास्वपाले यसअघि निरन्तर भन्दै आएको पनि उनले स्मरण गराए ।

