बालेन रास्वपामा समाहित, मेयर पदबाट छिट्टै राजिनामा दिने

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच एकता सम्झौता भएको छ । उनीहरूबीच आइतबार (पुस १३) बिहान (राति) सहमति भएको हो । आइतबार बिहान भएको सहमतिपत्रमा रवि लामिछाने र बालेन्द्र शाहले हस्ताक्षर गरेका छन् । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी रहने भएको छ । दुई नेताबीच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ । उनीहरूले नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरू यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने पनि सहमति भएको छ । बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने पनि सहमति भएको छ । यो सम्झौताबमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने पनि सहमति भएको छ ।

रवि लामिछाने र बालेनको मिलनप्रति खुसी व्यक्त गर्दै भएलगत्तै पूर्वरेडियोकर्मी हरिशरण लामिछानेले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । हरिशरण रविका दाइ हुन् । उनले काठमाडौको भावी मेयरमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । पार्टीमा परिवारवादलाई छेकबार लगाउने नाममा रविले आफ्नो राजनीतिक करियर रोकेको भन्दै हरिशरण असन्तुष्ट रहँदै आएका थिए । सम्झौतापछि मेयर बालेन्द्र शाह (बालेन) ले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन् । आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमतिपछि उनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन् । मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले महानगरको सबै प्रक्रिया पु¥याएर बालेनले दुई साताभित्रमा राजीनामा दिने बताए । “उचित समय आएपछि मेयरज्यूले राजीनामा गरिहाल्नुहुन्छ । महानगरमा केही काम बाँकी छ । त्यो सबै काम सकाएर दुई साता÷१५ दिनभित्रै राजीनामा गर्नुहुन्छ,” उनले भने ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । चुनावका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची छ । बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएपछि उनी संसदीय राजनीतिमा होमिँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *