गोवाको नाइटक्लबमा आगलागी हुदा २५ जनाको निसास्सिएर मृत्यु



नेपाल दर्पण, मुम्बई ।
गोवाको अर्पोरामा रहेको एक नाइटक्लबमा ठूलो दुर्घटना भएको छ, जसमा २५ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार उत्तरी गोवाको बिर्च बाई रोमियो लेन नाइटक्लबमा आगो लागेको हो । मध्यराततिर आगलागी भएकोे थियो र करिब दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । प्रहरीका अनुसार किचनमा काम गर्दा अचानक सिलिन्डर विस्फोट भएपछि आगलागी भएको थियो ।
समाचारको अनुसार गोवा डीजीपी आलोक कुमारले राति १२ः०४ बजे खबर आएपछि प्रहरी, फायर ब्रिगेड र एम्बुलेन्स तुरुन्तै घटनास्थलमा पुगेको बताए । उनले सबै शव बरामद गरिएको जानकारी दिएका छन् । आगो क्लबको भुइँ तलाको किचन क्षेत्रमा लागेको र २५ जनाको मृत्यु पुष्टि भएको छ । स्थानीय बासिन्दा र कर्मचारीहरूका अनुसार, आगलागी हुँदा क्लबमा कर्मचारीबाहेक पनि केही मानिस पनि थिए । मृत्यु हुनेमा चारजना पर्यटक पनि छन् । २५ जनामध्ये तीनजनाको मृत्यु आगोमा जलेर भएको र बाँकीको मृत्यु धुँवामा निसास्सिएर भएको बताइएको छ ।
राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले गोवाको अर्पोरामा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले यो घटनालाई राज्यको लागि धेरै दुर्भाग्यपूर्ण बताएका छन् र मृत्यु हुनेमा अधिकांश भान्साका कामदार रहेको बताएका छन् । नाइटक्लबले अग्नि नियमहरू पालना गरिरहेको थिएन र लापरवाही गर्ने अधिकारीहरूले यसलाई सञ्चालन गर्न अनुमति दिएका थिए । राष्ट्रपति द्रौपदी मुर्मुले भनेकी छिन, “उत्तरी गोवा जिल्लामा भएको दुखद आगलागीको घटनाबाट गहिरो दुःख लागेको छ, जसले धेरै अमूल्य जीवनहरू गुमायो । शोकसन्तप्त परिवारहरूप्रति मेरो गहिरो समवेदना । यो कठिन समयमा उनीहरूले साहस पाऊन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

