जेनजीहरू प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित

नेपाल दर्पण, काठमाण्डौं ।

प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजीहरू प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित भएका छन् । ध्यानाकर्षण बुझाउन सोमवार सिंहदरबार पुगेका जेनजीले घण्टौं कुर्दा समेत प्रधानमन्त्री कार्कीसँग भेट्न नपाएपछि होहल्लासँगै आक्रोशित भएका हुन् । सरकार नातावाद र कृपावादमा लागेको उनीहरुको आरोप समेत छ ।

प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले जेनजी पुस्ताका माग सम्बोधन गर्न सरकार गम्भीर रहेको बताए । उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, नातावाद र कृपावाद अन्त्यका लागि गम्भीरताका साथ काम गरिरहेको समेत बताए । खनालले भने, ‘उहाँहरूका मागहरू सम्बोधन गर्न सरकार गम्भीर छ । सरकार सुशासन कायम गर्दै नातावाद, कृपावाद अन्त्य गर्नको लागि बनेको हो । उहाँहरूलाई उचित समयमा हामी प्रधानमन्त्रीलाई भेटाउँछौँ ।’

जेनजीले उठाएका माग जायज रहेकाले त्यसमा छलफल गर्ने उनले आश्वासन दिएका थिए । जेनजी युवा समूहहरूले भने प्रधानमन्त्रीले नै आफूहरूको कुरा सुन्नुपर्ने अडान राखेका थिए । आफूलाई भेट्न जेनजी युवाहरू मुख्य गेटमा पुगेपनि प्रधानमन्त्री कार्की भने मन्त्रिपरिषद् बैठक सकेर बाहिरिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *