मातृभूमि जागरण अभियानलाई तिलाञ्जली दिएर प्रचण्डसँग गाभिए भीम रावल

नेपाल दर्पण, काठमाडौं ।

एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएका एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा गाभिएका छन । आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सुरु गरेका रावलले त्यसलाई तिलाञ्जली दिएर बुधबार नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालसँग सहमति गरेका हुन् । नेकपामा रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने सहमतिमा भनिएको छ । त्यस्तै पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकताअनुसार कार्यदल गठन गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि रावलले विछोडको दिनको आलो घाउमा मलहम लगाएको जस्तो महशुस भएको प्रतिक्रिया दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सात बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै उनले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजन हुँदाको विछोडको आलो घाउमा मलहम लगाएको जस्तो महशुस भएको प्रतिक्रिया दिएका हुन् । ‘नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिकृयावादीहरु र कम्युनिष्ट आन्दोलनलाई विशृङखलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेहरुबाट विभाजन गरिएर गह्रौ मन लिएर यही ठाउँबाट छुट्टिएर गइएको थियो । फर्केर आज नेपाली कम्युनिष्ट पार्टीअन्तर्गत यहाँ बस्नुभएका कमरेडहरुबीचमा कुरा राख्न पाउँदा विछोडको दिनको आलो घाउमा मलहम लागेको जस्तो महशुुस भएको छ,’– उनले भने ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० कम्युनिष्ट घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको हो । सो पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् भने सहसंयोजकमा माधव कुमार नेपाल रहेका छन् । नेपाल र रावल दुवै एमाले पृष्ठभूमिका नेता. हुन् । आउने दिनमा आफूहरु सशक्त रुपले, संगठनात्मक, भावनात्मक एकता र आफ्नो लक्ष्यमा पुगेर छाड्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *