रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत दर्जनौं नेताहरु एमालेमा फर्किए



नेपाल दर्पण, काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘घर फर्क अभियान’ मार्फत आफ्ना पुराना नेताहरुलार्ई एमालेमा स्वागत गरेका छन् । पूर्वमन्त्रीद्वय रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत दर्जनौं नेताहरु एमालेमा फर्किएका छन् । उनीहरुलाई राष्ट्रियसभा गृहमा आयोजित विशेष कार्यक्रममा केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । एकीकृत समाजवादी, माओवादी केन्द्रलगायत १० कम्युनिष्ट घटकहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेसँग झाँक्री, श्रेष्ठलगायतका नेताहरु एमालेमै फर्किएका हुन् ।
२०७९ भदौमा एमाले विभाजन गर्न महत्वपूर्ण भूमिका खेलेकी झाँक्री फेरि सोही पार्टीमा फर्किएकी हुन् । झाँक्रीसँगै तत्कालीन एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङ्तान, विष्णु विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, बबी चाम्लिङलगायत एमालेमा फर्किका छन् ।
एमालेमा आएपछि झाँक्रीले अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालबाट केही पनि नहुने बताएकी छन् । आज (सोमबार) एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अलमलमा नपरी एमालेमै फर्किन अरु नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरिन् । ‘म जो नेतृत्वसँग विश्वासका साथ यात्रा गरेँ, उहाँहरुप्रति मलाई कुनै आलोचना गर्नु छैन, कुनै गुनासो गर्नुछैन । उहाँहरु सबै जनाप्रति सम्मान छ र शुभकामना पनि छ । तर, त्यहाँबाट केही हुँदैन । साथीहरुलाई अलमलमा त्यहाँ नरहन र मूल प्रवाहमा आउनका लागि म अनुरोध गर्न चाहन्छु,’– उनले भनिन् ।
यस्तै एमालेमा फर्किएपछि किसान श्रेष्ठले पार्टी फुटाउनु गल्ती भएको स्विकारेका छन् । उनले लिखित सम्बोधन गरेका थिए । उनले भने,‘आजको यो क्षण हाम्रो राजनीतिक जीवनको अत्यन्तै भावनात्मक र ऐतिहासिक मोड हो । चार वर्षअघि हामीले विभिन्न कारणले नेकपा एमालेबाट अलग भएर अर्को बाटो रोज्यौँ । त्यो निर्णय त्यो बेलाको परिस्थितिमा ठिक लागे पनि, आज पछिल्लो अनुभूति र आत्म मन्थनपछि हामी त्यो निर्णय गल्ती थियो भन्ने निष्कर्षमा पुगेका छौँ ।’ एमालेले आज एक कार्यक्रम गरेर ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा गरेको छ । घर फर्क अभियान अब निरन्तर चल्ने बताइएको छ ।

