बालेन र सबै दलहरुलाई ठेगान लगाउने दुर्गा प्रसाईंको चेतावनी



नेपाल दर्पण, काठमाडौं ।
महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार (कात्तिक २३) बिहान मनोहरा सुकुम्वासी बस्तीमा पुगेका छन् । त्यहाँ भेला भएका स्थानीयलाई उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन आह्वान समेत गरे ।
उनले युवा तथा खेलकुद बब्लु गुप्ताले भिक्टर पौडेललाई २ करोड बुझाएर मन्त्री बनेको आरोप लगाएका छन् । पौडेल तिनै हुन जसले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी रुटिन अफ नेपाल बन्द नामक सामाजिक सञ्जालका सञ्चालक हुन् । पौडेल मेयर साह निकट मानिन्छन् ।
प्रसाईंले सुकुम्बासी बस्ती आफूले भत्काउन नदिने आश्वासन दिए । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गरिब र सर्वहारा वर्गको उठिबास लगाएको पनि बताए । उनले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए । सबै दल र बालेनलाई आफूले ठेगान लगाउने उनको चेतावनी थियो । सुकुम्वासी बस्ती खाली गर्न महानगरले दिएको एक साताको ‘अल्टिमेटम’ आज सकिँदै छ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ ।

