इँटाभट्टामा मान्छे जिउँदै जलाएको आरोप लागेका कांग्रेस नेता अफताब आलमको निधन

नेपाल दर्पण, काठमाडौं ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ । उपचारका क्रममा उनको गएराति २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गम्भीर स्वास्थ्य समस्याबाट पीडित ६० वर्षीय आलमलाई विगत केही दिनयता भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था गम्भीर बनेपछि केही दिनअघि भारतको दिल्लीस्थित एम्स अस्पतालमा लगिएको थियो । तर चिकित्सकले घरमै राखेर उपचार गर्न सुझाव दिएपछि उनलाई पुनः नेपाल ल्याइएको थियो ।

२०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसला भएपछि उनी कारागार चलान भए । यो मुद्दामा उनी करिब ६ वर्षसम्म जेलमा रहे । उच्च अदालतले गत जेठमा उहाँलाई रिहा गरेको भए पनि उक्त मुद्दाको अन्तिम निर्णय भने अझै भएको छैन ।कारागारमा रहँदा उनको स्वास्थ्य अवस्था लगातार बिग्रिँदै गएको थियो । मृगौला, मस्तिष्क र पाचनसम्बन्धी समस्या देखिएपछि पटकपटक विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।

रौतहटको मुस्लिम समुदायबाट उदाएका आलम नेपाली काँग्रेसभित्र मधेश र मुस्लिम समाजको प्रभावशाली नेतृत्वको रूपमा स्थापित नेता थिए । उनी २०५६ र २०६४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विश्वास जितेसँगै उनले केही समय श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी पाए । राजनीतिमा संगठन विस्तार र कार्यकर्ता परिचालनमा माहिर मानिने आलमले रौतहटमा कांग्रेसको आधार मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *