जनार्दन शर्मा र राम कार्कीले गरे माओवादी पार्टीलाई बाईबाई



नेपाल दर्पण, काठमाडौं ।
माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्की माओवादीबाट अलग भएका छन । प्रचण्डले माधव नेपालको र अरु पार्टीसँग एकता गर्ने भएपछि उनीहरुले अलग हुने निर्णय गरेका हुन । ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित प्रगतिशील अभियानको सुरुआत भएको घोषणा गरेका छन् । प्रगतिशील अभियानले नेपालमा दशकौँदेखि चल्दै आएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउन सबै प्रगतिशील शक्तिहरू एकजुट गराउने विश्वास व्यक्त गरिएको छ ।
उनले माओवादी आन्दोलन र शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक मोड बताउँदै भने, ‘क्रान्तिको मर्म र सहिदहरूको बलिदानलाई व्यर्थ जान नदिई समाजवादी राजनीति र जनताको सर्वोच्चतामा आधारित नयाँ दिशा तय गर्नुपर्छ ।’ त्यसैगरी, माओवादी केन्द्रका पूर्वसचिव राम कार्कीले नेपाली कम्युनिष्ट आन्दोलनभित्रको गुटबन्दी, व्यक्तिवाद र अवसरवादले आन्दोलन कमजोर बनाएको बताए । उनले भने, ‘नेपालको वाम आन्दोलनले जनताको अपार विश्वास पाएको थियो, तर नेताहरूले जनताप्रति जवाफदेही बन्न नसक्दा त्यो ऊर्जा निराशामा परिणत भयो । अब वैचारिक शुद्धता, आत्मसमीक्षा र सङ्गठनात्मक नवजीवनमार्फत नयाँ समाजवादी आन्दोलन खडा गर्नैपर्छ ।’
कार्कीले आफूहरूले ’नालायक नेतृत्व’लाई प्रतिस्थापन गर्न नसकेको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूको पिँढीले ‘नालायक नेतृत्व’लाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गरेका हुन् । उनले हाल नेपालको कम्युनिस्ट आन्दोलन विघटन हुन पुगेको पनि बताए । केही नेताहरूका लागि पार्टी भए पनि जनता र जेनजीको नजरबाट हेर्दा पार्टी विघटित भइसकेको उनले बताए । उनले जेनजी युवाहरूको भावनाविपरीत भ्रष्टाचारका मुद्दा लागेका नेताहरू टाउकोमा कल्की झुन्ड्याएर ठूलो पदमा पुगेको बताउँदै एकताको स्वाङ गरिरहेको आरोप लगाए ।

