जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा, घाइतेलाई आर्थिक सहायता

नेपाल दर्पण, काठमाडौं ।

सरकारले राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजी पुस्ताद्वारा गत भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँलगायत विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

यस्तै सरकारले ‘जेनजी’ आन्दोलनमा मृत्यु भएकाको परिवार र घाइतेलाई आर्थिक सहायतास्वरूप १२ करोड ८० लाख ८० हजार रुपैयाँ प्रदान गरेको छ । अर्थ मन्त्रालयले उनीहरूलाई आर्थिक सहायतास्वरूप उक्त रकम उपलब्ध गराएको हो । गएको भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदीबन्दी र अरू ४१ गरी ७६ जनाको मृत्यु भएको थियो ।

“२०८२ भदौ २३ र २४ गतेको आन्दोलनका मृतकलाई आर्थिक सहायता, काजकिरिया, खाना तथा यातायात खर्चबापत ५३ परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँका दरले सात करोड ९५ लाख निकासा गरिएको,” अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा भनिएको छ । यस्तै, जेनजी आन्दोलनका घाइतेलाई तत्काल भैपरी खर्चबापत दुई हजार ४२९ जनालाई २० हजारका दरले चार करोड ८५ लाख ८० हजार रुपैयाँ निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ । बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको बताए । विपद् संकटग्रस्त जिल्ला घोषणा इलाम जिल्लाका प्रभावित तहहरुलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *