पुराना दल बिरुद्ध चुनावमा जान रवि लामिछानेलाई निकाल्नुपर्छः बाबुराम



नेपाल दर्पण, काठमाडौं ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रवि लामिछानेलाई बाहिर निकालेर उनको नेतृत्वमा सबै शक्ति मिलेर पुरानाका बिरुद्ध चुनावमा जानुपर्ने बताएका छन । उनले लामिछानेलाई बाहिर बसेर नै मुद्दा लड्ने वातावरण बनाउन सके राम्रो हुने धारणा राखेका छन् । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको पहलमा सुरु गरिएको वृहत राजनीतिक सम्वादमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।
रविलाई अन्याय भयो भनेर रास्वपाको मुख्यालयमा पुगेर हस्ताक्षर गरेका र पटक पटक भैरहवामा लामिछानेलाई राखिएको जेलमा पुगेर भेट गरेका भट्टराईले अहिलेपनि लामिछानेलाई बाहिर बसेर मुद्दा लड्ने वातावरण बनाउनुपर्ने धारणा राखेका हुन् । उनले भने,‘उहाँ अहिले भित्र हुनुहुन्छ, उहाँमाथि भेदभावपूर्ण व्यवहार भयो कि भनेर मैले पनि हस्ताक्षर गरेको हुँ । त्यसको अर्थ मैले क्लीन चिट दिने कुरा होइन, अदालतले दिने हो । सफाइ दिनको लागि बाहिर आएर खेप्दा न्यायपूर्ण हुन्थ्यो । उहाँलाई कुनै ढंगले बाहिर नै रहेर मुद्दा फेस गर्ने वातावरण बनाउन सके राम्रो हुन्थ्यो । उहाँको नेतृत्वको हामीलाई आवश्यकता छ ।’
उनले कांग्रेस र कम्युनिस्टहरूलाई आगामी चुनावमा हटाउन नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए ।

