उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै यो वर्षको छठ सम्पन्न



नेपाल दर्पण, काठमाडौं ।
बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै यो वर्षको छठ समापन भएको छ । मिथिलाञ्चलवासीले नदी किनारमा बसी उदाउँदो सूर्यको पूजा–आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएर छठ सम्पन्न गरेका हुन् ।
षष्ठीको साँझ दिइने अघ्र्यलाई ‘सन्ध्या अघ्र्य’ र बिहान दिइने अघ्र्यलाई ‘उषा अघ्र्य’ भनिन्छ । छटमा व्रत बसेर सूर्यदेव र छठीमाताको पूजा, आराधना गर्दा चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने, परिवारका सम्पूर्ण सदस्यलाई सुस्वास्थ्य तथा दीर्घजीवन प्राप्त हुने विश्वास गरिन्छ । मिथिलाञ्चलमा चैतमा पनि छठ मनाइन्छ । तर कार्तिकमा पर्ने छठलाई विशेष महत्व दिइन्छ । मिथिला मूल थलो भएकाहरूको बसाइँसराइसँगै यो पर्व अचेल काठमाडौं उपत्यकालगायतका स्थानमा समेत धुमधामसँग मनाइन्छ ।
कार्तिक शुक्ल चतुर्थीमा ‘नहाय खाए’ विधिबाट शुरु हुने छठ सप्तमीको बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पूरा हुने विधि छ । यसअघि छठको मुख्यदिन षष्ठीको साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए ।

