गृहमन्त्रीलाई ओलीको चेतावनी, ओलीलाई पक्रे देशभरी आगो बल्छःबस्नेत

नेपाल दर्पण, काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्रीलाई राजनीति बुझेर चल्न चेतावनी दिएका छन् । “गृहमन्त्रीको विषयमा त मैले भएपछि थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहान्छु,” उनले भने, “राजनीति ख्याल ठट्टा होइन । देश चलाउने कुरा ख्याल ठट्टा होइन । यस कुरालाई बुझेर चल्न म सुझाव दिन्छु ।”

ओलीले सरकारले सडक तमासा गरिरहेको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो भनेका हुन । यता, एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन चुनौति दिएका छन् । आज (बिहीबार) एमालेले भक्तपुरको गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीलाई पक्राउ गरिएको खण्डमा देशभरी आगो बाल्ने चेतावनी दिएका हुन् ।

‘मैले हिजो पत्रकार सम्मेलनमा भनेँ– तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई छोएर देखाउ । देशभरी आगो बल्ने छ,’– उनले भने । साथै, नेता बस्नेतले आगामी असोज २५ गते एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा मोटरसाइकल र्यालीमार्फत शक्ति प्रदर्शन गर्ने बताए । उनले भने, ‘२५ गते राष्ट्रिय युवा संघ नेपालले १ बजे तिनकुनेबाट मोटरसाइकल र्याली गरेर देखाउँदैछ । युवाहरुको तागत के हो ? नेकपा (एमाले) का तागत के हो ? तपाईँहरु सबैलाई २५ गते जान म आग्रह गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *