एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछाड्ने


नेपाल दर्पण, काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले सकुन्जेल पार्टी नेतृत्व नछाड्ने बताएका छन् । एमाले जिल्ला अध्यक्षहरुका लागि आयोजना गरिएको भर्चुअल बैठकमा ओलीले यस्तो भनेका हुन । ओलीले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामथ्र्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने बताएका छन् ।
अध्यक्ष ओलीले सक्रियता, इमान र विचारको हिसाबले पार्टीको शीर कहिल्यै पनि निहुरिन नदिने पनि बताए । उनले शारीरिकरूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने सुनाए । उनले भने, ‘जबसम्म म सक्छु, तबसम्म । सक्न छाडेपछि नेतृत्व छोडिदिन्छु ।’ पार्टीको सचिवालय र केन्द्रीय कमिटी बैठकअघि जेनजी आन्दोलनपछिको अवस्थाबारे छलफल गरेका हुन् । “उहाँले पछिल्लो अवस्थाबारे ग्राउन्ड बुझ्न खोज्नुभएको जस्तो लाग्यो । सुझाव दिनका लागि जिल्ला अध्यक्षलाई तीन मिनेटको समय दिइएको थियो,” एक जिल्ला अध्यक्ष भन्छन् ।
गण्डकी र कर्णाली प्रदेशका नेताहरूलाई एकै ग्रुपमा जोडिएको ती अध्यक्षले बताए । “दुई प्रदेशलाई एकै ठाउँ राखिएको थियो । अध्यक्षकै निरन्तरता हुनुपर्छ भन्ने र अब नेतृत्व छोड्नुपर्ने खालाका मिश्रित सुझाव आए,” ती अध्यक्ष भन्छन् । अन्यमा पनि त्यसैगरी संवाद गरेका हुन् । छलफलका क्रममा सचिवालय बैठक, केन्द्रीय कमिटी बैठकले अवस्थाको ठोस मूल्यांकन गरेर आवश्यक निर्णय लिने धारणा ओलीले राखेका थिए ।
उनले पार्टीभित्र नचाहिने हल्ला मच्चाइएको भन्दै आपत्ति जनाए । सामाजिक सञ्जालर्फत नेताहरूले पार्टी पुनर्गठनका विषयमा राखेका धारणाप्रति पनि आपत्ति जनाएका हुन् । “पार्टीको विधि, प्रक्रिया हुन्छ । सामाजिक सञ्जालमार्फत हल्ला मच्चाइएको भन्दै अध्यक्षले असन्तुष्टि प्रकट गर्नुभयो,” ती नेता भन्छन् । ओलीले आफूले सुनेको र थोरै बोलेको नेताहरू बताउँछन् । ओलीले आफूले सुनेको र थोरै बोलेको नेताहरू बताउँछन् । “उहाँले धारणा बुझ्नुभएको छ । धेरै सुन्नुभएको छ । आफ्नो कुरा थोरै राख्नुभयो,” अर्का जिल्ला अध्यक्ष भन्छन् । एमालेको सचिवालय बैठक असोज २४ गते बोलाइएको छ । केन्द्रीय समिति बैठक असोज २७–२९ गतेका लागि बोलाइएको छ । जेन–जी विद्रोहका कारण सत्ताच्युत भएका ओली अहिले गुण्डुमा बस्दै आएका छन् ।