अब जेन्जीले ग्रान्ड शक्ति प्रदर्शन गर्छः ‘जेनजी’ अभियन्ता मिराज ढुंगाना


नेपाल दर्पण, काठमाडौं ।
‘जेनजी’ अभियन्ता मिराज ढुंगानाले ग्रान्ड शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन् । उनले बुधबार आफ्नो फेसबुक पेजमा ‘बिर्सेको छैन, कमजोर भएको हैन’ भन्दै एक भिडियो सन्देश जारी गर्दै उक्त घोषणा गरेका हुन् । भिडियो सन्देशमा मिराजले ग्रान्ड शक्ति प्रदर्शन गर्ने मिति भने तोकेका छैनन् । “हामी कमजोर छैनौँ । हामीसँग धेरै मानिस जोडिनुभएको छ । छिट्टै हामी एकदम ग्रान्ड शक्ति प्रदर्शन गर्नेवाला छौँ । यो चाहिँ शन्तिपूर्ण हुनेवाला छ । धेरै मानिसले हाम्रो साथ दिनुहुनेवाला छ,” मिराजले भनेका छन् ।
यसअघि मिराजले भदौ २३ गतेको प्रदर्शनमा सहभागी हुन जेनजीहरूलाई आह्वान गरेका थिए । तर, उनी आफू भने भदौ २३ र २४ गतेको प्रदर्शनमा सहभागी भएका थिएनन् । आफ्नै केही साथीहरूले धम्की दिएपछि उनी भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा घरमै बसेका थिए । उनले बुधबार फेसबुकमा राखेको भिडियोमा आफ्नो संघर्ष नरोकिएको जनाएका छन् । मुख्य कुरा गरेरै छोड्ने दाबी उनले गरेका छन् । “मुख्यकुरा हामी गरेरै छोड्छौँ । त्यसको लागि हामी सबैजनालाई जुन बेला हाम्रो शक्ति प्रदर्शन हुन्छ त्यो बेला एउटा मोर्चा होला, एउटा मार्च होला, सबैजना आइदिनु होला,” मिराजले आह्वान गरेका छन् ।
देश बनाउन यस्तो अवसर यसअघि कहिल्यै नआएको भनाइ उनको छ । मिराजले भिडियोमा भनेका छन्, “अहिले हामीसँग यो शक्ति छ, यो ठाउँ छ हामीलाई । त्यही भएर यसलाई हामी अब गुमाउनेवाला छैनौँ ।” व्यक्तिगत रूपमा आफ्नो ज्यानको कुनै परवाह नगरी प्रत्यक्ष निर्वाचित कार्यकारी सिस्टम ल्याउनेतर्फ आफू लाग्ने उनले बताएका छन् । “मुख्य माग बिर्सेका छैनौँ, त्यो हो– प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री । कतिलाई यो सिस्टमबारे के शंका थियो भने यो सिस्टमबाट बनेको प्रधानमन्त्री निरंकुश हुने हो कि । त्यसलाई हामीले नजरअन्दाज गर्न मिलेन,” उनले भनेका छन् ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री निरंकुश हुन्छ वा हुँदैन भनेर आफूले धेरै समय रिसर्चमा बिताएको उनले जनाएका छन् । उनले थप स्पष्ट पारेका छन्, “यो प्रणालीबाट आएको प्रधानमन्त्रीलाई निरकुंश हुन नदिनको लागि हामीले थुप्रै देशका सिस्टमहरू हेरेम् । कुन सिस्टममा उहाँहरू चलिरहनुभएको छ भनेर हेरेम् । त्यो सबै हेरेर, सबैको आकलन गरेपछि अन्तत हामी बल्ल निष्कर्षमा आयौँ । एउटा हामीले सिस्टम बनाएको छौँ जुनमा पावर ब्यालेन्स हुन्छ, जुनमा प्रधानमन्त्रीसँग यस्तो निरंकुश हुने सम्भावना नै हुँदैन । यो बारेमा छिट्टै एउटा भिडियो बनाएर यो सिस्टमलाई बुझाउने छौँ, सार्वजनिक गर्नेछौँ ।”