मानवीय क्षति नहुनेगरी काम भइरहेको छ, विपद्का बेला फाइदा उठाउनेलाई कारवाही हुन्छःगृहमन्त्री

नेपाल दर्पण, काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले विगतको कमजोरीबाट पाठ सिक्दै यसपटकको विपद्मा मानवीय क्षति नहुनेगरी पूर्वतयारी र प्रतिकार्यको काम भइरहेको बताएका छन् । सिंहदरबारमा पत्रकारसँग उनले यसपटक मानवीय क्षति शून्य नै होस् भन्ने उद्देश्यका साथ काम भइरहेको बताए । गृहमन्त्री अर्यालले मानवीय क्षति शून्यमा झार्ने सरकारको योजनामा कुनै कमिकमजोरी नहोस् भनेर निर्देशन दिइएको पनि बताए । विपद् व्यवस्थापनका लागि सरकार र नागरिकका साथै सामुदायिक एवं व्यावसायिक संस्थाहरूबीच समझदारी विकास हुनुपर्ने बताए ।

विपद्का समयमा गतल फाइदा उठाउन खोज्ने प्रवृत्तिविरुद्ध सरकार कठोर ढङ्गबाट प्रस्तुत हुने स्पष्ट पार्दै उनले भने , “सङ्कटका बेला जसले नाजायज अवसर देखिरहेको छ, त्यसविरुद्ध निगरानी र नियन्त्रण गरिनेछ ।”सङ्कटका बेला सुशासनको महत्व बढी हुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले सरकारको निर्देशनलाई मातहतका निकायले कडाईका साथ कार्यन्वयन गर्नुपर्ने बताए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहेका मन्त्री अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको स्पिरिटअनुसार काम हुनुपर्ने उल्लेख गर्दै गरे । उनका अनुसार, शुक्रबारदेखि भइरहेको भारी वर्षाका कारण हालसम्म मानवीय क्षति भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *