बाढी पहिरो विपद्का कारण २२ जनाको मृत्यु, ३२ बेपत्ता


नेपाल दर्पण, काठमाडौं ।
शुक्रवार रातीदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म विभिन्न ठाउँमा २२ जनाको मृत्यु भएको छ । शनिबार र आइतबार पहिरोमा परी उदयपुर, रौतहट र इलाममा २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार, पहिरोमा परी इलाममा मात्रै १८ जनाको मृत्यु भएको छ । सातजना बेपत्ता र ६ जनालाई उद्धार गरिएको घिमिरेले बताए । रौतहट तीनजनाको पहिरोमा परेर मृत्यु भएको छ । उदयपुरमा एकजनाको मृत्यु र २१ जना बेपत्ता छन् । उदयपुरमा २२ जना सवार हाइसको दुर्घटना भएको थियो ।
हाइस जबरजस्ती खोलामा हाल्ने क्रममा दुर्घटना भएको हो । २२ मध्ये २१ जनाको उद्धार गरिए पनि एक जनाको खोलाले बगाउँदा ज्यान गएको कार्यकारी प्रमुख भट्टले बताए । इलाममा एक जना गर्भवती महिलाको उद्धार गर्नका लागि हेलिकप्टर पठाइएको जानकारी दिए । उदयपुरको गिरेबी खोलामा केही मानिसहरू डुबानमा फसेकाले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताए । ३२ जना बेपत्ता भएका छन । समस्या आएका ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरू परिचालन गरेको बताए ।
उनकाअनुसार मनसुन अहिले पूर्वतिर सक्रिय भएको छ । पूर्वतिर बिहानैबाट पानी बढी पर्न थालेको र विस्तारै कम हुँदै गएको बताए । विपद्को जोखिम अझै कायमै रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे । पहिरो र बाढीको जोखिम अझै बाँकी रहेकाले लामो दूरीको यात्रा नगर्न आग्रह गरेका छन । वर्षा कम भएसँगै सडक सञ्जाल सञ्चालन र विद्युत क्षेत्रको अवरुद्धता हटाउनु नै पहिलो प्राथमिकतामा रहने बताए ।