संविधान खारेजीको मुद्दा: जेन–जीमा विवाद, मिरज ढुंगाना वार्ता टोलीमा नबस्ने


नेपाल दर्पण, काठमाडौं ।
जेन–जी अभियन्ताहरुमध्येका एक प्रवेश दाहाल लगायतले पत्रकार सम्मेलन गरेर वर्तमान संविधान खारेजीको माग गरेका छन । तर उनी लगायतको टिमले संविधान खारेजको कुरा उठाएपछि सो समूह विभाजित बनेको जानकारीमा आएको छ । संसद् विघटन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, २०४६ साल पछाडिका सबै नेताहरुको सम्पत्ति छानविन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, एउटा व्यक्ति दुईपल्ट भन्दा प्रधानमन्त्री हुन नपाउने व्यवस्था हुनुपर्ने लगायतका माग जेन–जीहरुको रहेको थियो । तर, संसद् विघटनबाहेक जेन–जीका कुनै पनि माग पूरा नभएको उनीहरुको गुनासो छ ।
राष्ट्रपति र प्रधानमन्त्रीलगायतसँग वार्ताको लागि जेन–जी अभियन्ताहरुले बनाएको वार्ता टोलीमा मिरज ढुंगाना नबस्ने भएका छन् । यसअघि जेन–जीहरुले ११ सदस्यीय आधिकारिक वार्ता टोली बनाएका थिए । उक्त वार्ता टोलीमा मिराज डुङ्गाना, पुरुषोत्तम यादव, प्रवेश दाहाल, कासिफ मिया खान, योग्यता भण्डारी, टीका लिम्बू, बब्लु गुप्ता, अर्पित कुँवरलगायत रहेको बताईएको थियो । तर, मिरज ढुंगानाले आफू उक्त वार्ता टोलीमा नबस्ने निधो गरेको बताए । यसअघि जेनजी आन्दोलनकी अगुवा रक्षा बमले पनि आफ्नो नाम वार्ता टोलीमा समावेश गरेकोमा आपत्ति जनाएकी थिईन् ।