जेनजी घाइतेहरुलाई शरीरको चिन्ताभन्दा पनि माग पूरा हुन्छ कि हुँदैन भन्ने छःपुन

नेपाल दर्पण, काठमाडौं ।

अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई ट्रमा सेन्टरमा पुगेर भेटेका छन् । शनिवार मन्त्री पुनले ट्रमा सेन्टरमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारबारे गुनासो नगरेको बताए ।

उनले घाइतेहरूले आफ्ना माग पूरा हुनुपर्नेमा चिन्ता व्यक्त गरेको बताए । आफूहरू देशका लागि लडेको, देशका लागि रगत बगाएको घाइतेहरूले बताएको भन्दै मन्त्री पुनले शरीरको चिन्ताभन्दा पनि माग पूरा हुन्छ कि हुँदैन र भविष्यमा के हुन्छ ? भन्ने चिन्ता घाइतेहरूमा देखिएको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी अहिलेको स्थितिमा के हुन्छ भन्न नसकिने भन्दै राजनीतिमा कुनै पनि बेला फरक स्थिति बनिदिने जिकिर गरे ।

पुनले भने, ‘विरामीको माग मुद्दाहरू नै जेनजी आन्दोलनको माग मुद्दा हो। हामीले देशका लागि रगत बगाएका हौँ। हाम्रो माग पूरा हुनुपर्छ भन्ने किसिमको छ। शरीरको चिन्ताभन्दा पनि माग पूरा हुन्छ कि हुँदैन, भविष्यमा के हुन्छ ? भन्ने छ । परिस्थिति कुन बेला के हुन्छ, त्यो थाहा छैन ।’ गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। घाइतेको उपचार जारी छ । ट्रमा सेन्टरमा उपचाररत जेनजी घाइतेमध्ये १ जनामात्रै आइसियुमा रहेको र अरू खतरामुक्त रहेको पाएको मन्त्री पुनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *