जेनजी घाइतेहरूलाई भेट्न पुगे मन्त्री खरेल, मृतकका परिवारलाई १० लाख क्षतिपुर्ति


नेपाल दर्पण, काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले टिचिङ हस्पिटलमा पुगेर जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भई उपचार भइरहेको घाइतेहरूलाई उनले भेटेका हुन् ।
सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका परिवारलाई प्रतिपरिवार १० लाखको दरले आर्थिक सहायता र काजकिरिया खर्च, खाना खर्च र यातायात खर्चवापत ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको बताएका छन । यस्तो आर्थिक सहायता भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बाल बन्दीका परिवारले भने पाउने छैनन् ।
यस्तै, मन्त्रिपरिषद्ले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालयको कार्यक्षेत्र र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रअन्तर्गत राख्ने निर्णय गरेको छ । त्यस्तै, नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्न जनकराज शर्मालाई जिम्मेवारी तोक्ने, सहसचिवहरू डा.रामगोविन्द अर्याल र रमेश शर्मा पौड्यालको राजीनामा स्वीकृत गर्ने निर्णय पनि भएको छ ।