कुलमान, बालेन र हर्कलाई समेटेर जेन्जी पुस्ताले नयाँ दल खोल्ने


नेपाल दर्पण, काठमाडौं ।
भर्खरै देशमा परिवर्तन ल्याएको जेन्जी समुहले नयाँ राजनीतिक दल खोल्ने भएको छ । जेन्जीका लिडर तथा हामी नेपालका संयोजक सुदन गुरुङले आगामी निर्वाचनमा जेन–जी पुस्ताले नयाँ दल खोलेर चुनावमा भाग लिने बताएका छन् । मिडीयामा बोल्दै उनले आगामी निर्वाचनमा जेन–जीहरुको नयाँ राजनीतिक दल जन्मिने बताएका हुन् । उनले आफूहरुको चाहना सुशासन भए पनि जबर्जस्ती राजनीतिमा तान्ने काम भएको बताए ।
‘हाम्रो आन्दोलन भ्रष्टाचारको विरुद्धमा थियो । तर, हामीलाई अहिले राजनीतिक दलहरुले कस्तोगरी तानिरहेका छन् ? जबर्जस्ती राजनीतिमा घुसाइरहेका छन् । हाम्रो चाहना थिएन राजनीतिमा छिर्ने । हाम्रो चाहना सुशासन होस्, नयाँ नेपाल बनोस्, गरिखाना पाउँ भन्ने मात्रै त उद्देश्य थियो । अब तान्छ नै भने जाऔं न त ? हामी सबै जना सक्षम छौं । अब लड्ने नै हो भने लडौं । अब नयाँ राजनीतिक दल जन्मिन्छ,’– उनले भने ।
जेन–जी पुस्ताको नेतृत्वमा खुल्ने नयाँ राजनीतिक दलको नामबारे भने आफूलाई थाहा नभएको उनले बताए । सबै जनाको राय, सुझाव लिएर नाम फाइनल हुने पनि उनले बताए । साथै, उनले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले राजनीतिक दलको दबदवाहको बीचमा स्वतन्त्र उठेर नयाँ आशा जगाएको बताए । बालेनले कोरेको बाटोमा अहिले आफूहरु पनि हिँडिरहेको उनले बताए । उनले बालेनसँग आफ्नो व्यक्तिगत चिनजान र भेटघाट भने नरहेको बताए । अब आफूहरुको जिम्मेवारी कुलमान घिसिङ, बालेन शाह, हर्क साम्पाङजस्ता मान्छेहरुलाई दल खोलेर एउटै ठाउँमा ल्याउनका लागि हुने उनले बताए ।