नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नेपाल दर्पण, काठमाडौं ।

नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार (असोज ६) शीतलनिवासमा आयोजित समारोहमा उनीहरूले शपथग्रहण गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा.मदन परियारलाई सिफारिस गरेकी थिईन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री कार्कीले यसअघि ऊर्जा तथा जलस्रोत मन्त्रीमा कुलमान घिसिङ, अर्थमन्त्रीमा रामेश्वर खनाल र गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गरिसकेकी छन् । प्रधानमन्त्री कार्कीले यसअघि नै नौ सदस्यीय मन्त्री परिषद् बनाउने घोषणा गरिसकेकी छन् । प्रधानमन्त्री कार्कीको क्याबिनेटमा स्वाथ्यमन्त्रीको अर्को सम्भावित पात्रबारे खोजी भइरहेको बताइएको छ ।

प्रधानमन्त्री कार्कीले मन्त्री नियुक्तिको लागि ५ जनाको नाम पठाएको भए पनि डा.संगीता कौशल मिश्रालाई भने मन्त्री नयुक्ति गरिएन । यसअघि उनलाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकी डा.मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा दिएर मन्त्री बन्ने तयारी गरेकी थिईन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डा.मिश्राविरूद्ध छानबिन गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री कार्कीले नियुक्ति अगाडि नबढाएकी हुन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, सर्वोच्च अदालतका प्रधानन्याधीश प्रकाशमानसिंह राउतलगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । मन्त्रिपरिषद्मा सोमबार चारजना थपिएपछि आठ सदस्यीय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *