बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध


नेपाल दर्पण, काठमाडौं ।
देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । केही दिनयताको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध भएका हुन् । हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएका छ ।
कोशी राजमार्ग, सिद्धिचरण लोकमार्ग, गल्छि–त्रिशूली सडक, अरनिको राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, कालीगण्डकी करिडोर, पूर्व–पश्चिम राजमार्ग, रत्न राजमार्ग, मध्यपहाडी लोकमार्ग लगायतका सडकका विभिन्न क्षेत्रमा सडक अवरुद्ध बनेका छन । सडक अवरुद्ध भएपछि यात्रामा रहेका यात्रुहरू अलपत्र बनेका छन् । नेपालीहरूको मुख्य चाड दशैंको पूर्वसन्ध्यामा राजमार्गमा अवरोध भएपछि यसबारे चासो बढेको छ ।
नेपाल प्रहरीका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा अवरुद्ध छ । कोशी राजमार्गकै मकालु गाउँपालिकाको एकुवामा पनि सडक अवरुद्ध छ । त्यसैगरी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका–८ सिरिसेमा पहिरोले सडक अवरुद्ध छ । बाढीका कारण रसुवासँग चीन जोड्ने मितेरी पुलमा पनि बाढीले सडक अवरुद्ध भएको छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङमा पहिरो खसेर दुवै स्थानमा अवरुद्ध छ ।
यसैगरि चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खसेर नारायणगढ मुग्लिन सडक अवरुद्ध छ । यहाँ शुक्रबार बेलुकादेखि पहिरो खस्न थालेको र आज बिहान पनि खसिरहेकाले पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोर रत्न राजमार्ग, पूर्वपश्चिम राजमार्ग गल्छी त्रिशूली सडकलगायतमा भने एकतर्फी रुपमा खुलाइएका छन् । शनिबार दिउँसो सिंहदरबारस्थित भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा आकस्मिक बैठक पनि बसेको छ ।