जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा राष्ट्रिय शोक दिवस मनाईयो


नेपाल दर्पण, काठमाडौं ।
जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन गरिएको छ । बुधबार काठमाडौंको माइतीघर र संसद् भवनअगाडि भेला भएर मृतकका परिवार तथा जेनजीहरूले देशभरका सहिदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । यही भदौ २३ गते जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक दिवस मनाईएको छ ।
आन्दोलनमा शहादत प्राप्त गरेकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । भदौ २३ गतेको प्रदर्शनमा सरकारको दमनको कारण १९ जना युवाले ज्यान गुमाएका थिए । भदौ २४ गतेको प्रदर्शनमा पनि ठूलो संख्यामा नागरिकले ज्यान गुमाएका छन् । दुई दिनको प्रदर्शनको क्रममा अहिलेसम्म ७४ जनाको निधन भएको सरकारको तथ्यांकले भनेको छ । सयौँ घाइते भएका थिए ।
जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए । मृतकप्रति श्रदाञ्जली दिँदै परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरे । उनीहरूले देशमा आफूहरूको योगदानले राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुने विश्वास समेत व्यक्त गरे ।