बिरामी छाडेर सरकारमा सहभागि नहुने प्रधानमन्त्री कार्कीलाई सन्दुक रुइतको जवाफ


नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । मन्त्रिपरिषद् विस्तारको पूर्वसन्ध्यामा प्रधानमन्त्री कार्कीले डा.रूइतलाई भेटेकी हुन् । मंगलबार (भदौ ३१) तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर उनले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेकी हुन । प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् ।
जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने बताए । तर, आफू सरकारमा सहभागी हुन नसक्ने जवाफ उनले दिएका बुझिएको छ । छलफलपछि डा. रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए । ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले आफू चिकित्सकीय पेसामार्फत नागरिकको सेवामा तल्लीन रहने बताउँदै आएका छन् ।
‘सन्दुक रुइतज्यू क्याविनेटमा आउँदै हो ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘यहाँ छोडेर आउने ? यत्रो छ काम, यहाँ छोडेर आउने ? विरामीलाई छोडेर आउँदिनँ ।’प्रधानमन्त्री कार्कीले हिजो तीन जना मन्त्री नियुक्त गरेकी थिईन् । मन्त्रिपरिषद् ११ सदस्यीय बनाउने प्रधानमन्त्री कार्कीको तयारी रहेको बताइएको छ ।