सुशीला कार्की प्रधानमन्त्री भएपछि जनस्तरमा सकारात्मक धारणा, मोदीले दिए बधाई


नेपाल दर्पण, काठमाडौं ।
जेन्जीको आन्दोलनसँगै तत्कालीन प्रधानमन्त्री कपी शर्मा ओलीले राजीनामा दिएपछि शुक्रबार राति कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएका छन् । “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना,” मोदीले भनेका छन्, “नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ ।”
यता, जेन्जीको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ । जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार कार्कीलाई संविधानको धारा ६१ (४) अनुसार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । मुलुकको वर्तमान परिस्थितिको निकासका लागि कार्की उत्तम विकल्प भएको नागरिकले धारणा राखेका छन् ।
मुलुकको आवश्यकताअनुसार प्रधानमन्त्री कार्कीप्रति भरोसा गरेर एकताबद्ध भई अगाडि बढ्नु
पर्ने उनीहरूको धारणा छ । एक दशकदेखि सत्तामा राज गरिरहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई परास्त गर्नु नै विजय भएको युवा अमृत चापागाईंले बताए । उनले मुलुकलाई सही दिशामा अघि बढाउन युवा नेताहरू एकजुट हुनुपर्ने बताए । उनले कार्कीको नेतृत्व मुलुकका लागि आशाको आधार बन्नसक्ने विश्वास समेत व्यक्त गरे ।वरिष्ठ अधिवक्ता देवराज कटुवालले कानुनको ज्ञान भएको र देशलाई माया गर्ने व्यक्तिलाई नेतृत्व दिनु सकारात्मक रहेको धारणा व्यक्त गरे । उनले तत्कालका लागि मुलुकको संकट टरेको भए पनि भविष्यमा आउनसक्ने चुनौतीसँग जुध्नका लागि प्रधानमन्त्री कार्की तयार भएर बस्नुपर्ने उनको भनाइ छ ।