संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं ।

‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको सुझावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो । ताजा जनादेशमा जानका लागि चुनाव गराउने र त्यतिन्जेल शासन सञ्चालन गर्ने गरी पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो ।

संविधानले प्रधानमन्त्री नियुक्त गर्नका लागि धारा ७६ मा व्यवस्था गरे पनि प्रतिनिधिसभाभन्दा बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा ६१ (४)ले संविधानको संरक्षक र पालक राष्ट्रपति हुने व्यवस्था गरेको छ । संविधानको धारा ६१ (४) मा भनिएको छ, “संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।“

यस्तै, राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गर्न सहमत भएका छन् । जेन–जी ले अघि सारेको मागबमोजिम नै संसद् विघटन गरेर नयाँ सरकार बनाउने शितलनिवासमा समझदारी बनेको हो । जेन–जीले अघि सारेकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेर सपथ खुवाउने सहमति बनेको छ । नयाँ नियुक्त हुने प्रधानमन्त्रीलाई सिंहदरबारमा नयाँ बनेको गृह मन्त्रालयमा राखिने तयारी भैसकेको छ । कर्मचारीले सिंहदरबारमा कुर्सी, फर्निचरलगायतका सामानको बन्दोबस्ती गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *