छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं ।

‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि सुन्धारामा मानिसको भीड बढेको छ । बिहीबार (भदौ २६) केही युवाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउनुपर्ने माग गरिरहेका छन् । केही युवाले कार्की नहुने भन्दै विरोध गरिरहेका छन् ।

संसद् विघटन गरेर बालेन्द्र शाह (बालेन), हर्क साम्पाङ, कुलमान घिसिङजस्ता पात्र अगाडि आउनुपर्ने भन्दै केही युवाले विरोध गरिरहेका छन् । उनीहरूले दुर्गा प्रसाईं सैनिक मुख्यालयभित्र रहेका भन्दै उनलाई तुरुन्त बाहिर निकाल्नुपर्ने माग गरिरहेका छन् । भीड बढेपछि सेनाले उनीहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ ।

जेन–जीका प्रतिनिधिहरू र मेयर बालेनले कार्कीको नाम प्रस्ताव गरेका थिए र छलफलका क्रममा संविधान संशोधन सुझाव दिने समिति गठन गर्ने विषयमा बहस भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा जेन–जीका प्रतिनिधिहरुले पूर्वप्रधानन्यायाधीश कार्कीको नाम प्रस्ताव गरेका थिए, जसलाई काठमाडौं महानगरपालिकाका मेयर बालेनले पनि समर्थन गरेका थिए । ‘प्रारम्भिक प्रस्तावमा उहाँ सकारात्मक देखिनुभयो, छलफल र रायसल्लाहपछि बाँकी दृष्टिकोण बताउने भन्नुभएको छ’ जंगी अड्डा निकट स्रोतले भन्यो, ‘प्रस्ताव सकारात्मक भएपछि केही सरोकार र चासो भएकाले छलफलका लागि समय चाहिन्छ भन्नुभएको छ ।’

करिव १७ महिना मुलुकको न्यायपालिकाको नेतृत्व गरेकी पूर्वप्रधानन्यायाधीश कार्की जेठ, २०७४ मा प्रधानन्यायाधीशबाट अवकाश भएकी थिइन् । विराटनगरबाट कानुन व्यवसायी सुरु गरी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश समेत हुन् । उनको खरो कार्यशैलीबाट असन्तुष्ट भएर तत्कालिन माओवादी–कांग्रेस सरकारले उनीविरुद्ध संघीय संसदमा महाभियोगको प्रस्ताव दर्ता गरेको थियो, जुन पछि सर्वोच्च अदालतको आदेशबाट निस्तेज भयो । चौतर्फी दबाबपछि उनीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता भएको थियो । अवकाशपछि उनले नेपाली समाज र शासनव्यवस्थामा देखिएको बेथितिबारे खरो टिप्पणी गर्दै आइरहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *