नेपालमा फेसबुक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जर बन्द, सरकारको कदमको चौतर्फी निन्दा


नेपाल दर्पण, ललितपुर ।
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल फेसबुक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जरजस्ता ठूला प्लाटफर्म सरकारले निष्क्रिय बनाएको छ । बिहीबार सरकारको निर्देशनपछि इन्टरनेट सेवा प्रदायकहरूले यसलाई कार्यान्वयनमा ल्याएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको छाता संस्था, आइस्पान र सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुलीले सरकारको निर्णयअनुसार प्लाटफर्महरूलाई बन्द गर्दै लगिएको बताए । ‘नयाँनयाँ आईपी एड्रेसहरू आइरहेका छन्, त्यसलाई पत्ता लगाउँदै धमाधम बन्द गर्दै गरिरहेका छौं,’ उनले भने, ‘मोबाइल अपरेटर र आईएसपीहरूको एउटा भाइबर ग्रुप बनाएका छौं, कसैले नयाँ लिंक फेला पारेमा त्यही ग्रुपमा राखेर सबैले ब्लक गर्दै छौं ।’
पराजुलीका अनुसार एकैचोटि सबै प्लाटफर्म पूर्ण रूपमा बन्द गर्न गाह्रो छ । यसले गर्दा केही ठाउँमा चल्ने र केहीमा नचल्ने भइरहेको हो । उनले भने, ‘हामीले वेब संस्करणहरू लगभग निष्क्रिय पारिसकेका छौं र मोबाइल एपहरू पनि क्रमशः बन्द हुँदै छन् ।’सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि नेपालमा भीपीएन चलाएर र डीएनएस सेटिङ परिवर्तन गरेर ती प्लाटफर्महरूमा पहुँच बनाउने क्रम बढेको छ । सरकारको कदमपछि प्रयोगकर्ताहरूले वैकल्पिक बाटो खोजिरहेका छन् ।
यता, सरकारको यस्तो निर्णयपछि पत्रकार, अधिवक्ता तथा सामाजिक अभियन्ताले सूचिकृत नहुने सोसल मिडिया बन्द गर्ने सरकारको निर्णयमा पूनर्विचारको माग गरेका छन् । एउटा साक्षात्कारमा बोल्दै उनीहरुले सोसल मिडिया बन्द गरेर रमाउनेहरु कोहीपनि सफल नहुने चेतावनी दिएका छन् ।