नेपाल-भारतबीच तनाव बढेका बेला चीनमा ओली मोदीबीच भेटवार्ता


नेपाल दर्पण, काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिङपिङले आयोजना गरेको सामूहिक रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटमा मोदीले नेपालसँग भारतको सम्बन्ध विशेष रहेको बताउदै ओलीसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले भनेका छन्, ‘तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो । नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष छ ।’ भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध विशेष रहेको उल्लेख गरेका छन् । मोदीले ओलीसँगको फोटा सामाजिक सञ्जाल एक्समा सेयर पनि गरेका छन् ।
पछिल्लो समय भारत र चीनबीच भारत नियन्त्रित नेपाली भूमि लिपुलेकबाट व्यापार पुनः सुचारु गर्ने सहमति भएपछि नेपाल र भारतबीच तनाव बढेको छ । यसैबीच प्रधानन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच चीनको तियानजिनमा आइतबार भेट भएको हो । प्रधानमन्त्री ओली चीनबाट फर्केपछि भारत भ्रमण गर्ने कार्यक्रम छ ।