चीन भ्रमणमा ओलीले भारतसँग भएको सम्झौताबारे आवाज उठाउलान त ?

नेपाल दर्पण, काठमाण्डौ ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुशीला थिङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै सीमा समस्या समाधानका लागि प्रभावकारी पहल गर्न आग्रह गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद थिङले चीन भ्रमणका क्रममा हालै चीन र भारतबीच भएको व्यापारिक सम्झौताका कारण नेपालको लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रका सन्दर्भमा उल्लेख भएका सन्दर्भमा आवश्यक निष्कर्ष निकाल्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पदम गिरीले प्रधानमन्त्री ओलीको चीन भ्रमण मुलुकको गौरव बढाउने सन्दर्भमा महत्वपूर्ण सावित होस् भन्ने कामना गरे । उनले नेपालको भूमि प्राणभन्दा पनि प्यारो रहेको भन्दै चीन भ्रमणका क्रममा हालै चीन र भारतबीच भएको व्यापारिक सम्झौताका कारण परेको प्रभावकारीका बारेमा प्रष्ट धारणा राख्न माग गरे ।

सांसदहरुको ध्यानाकर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिपुलेकबाट भारत–चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे आवाज उठाउने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरुले लिपुलेक, लिम्यिाधुराको सीमा मिचेर भारत र चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे आवाज उठाउनुहुन्छ ? भन्दै प्रश्न गरेका थिए । जसमा प्रधानमन्त्री ओलीले अवश्य उठ्ने जवाफ दिए । चीनको तियानजिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन ओली चीन जाँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *