रवि लामिछानेले उच्च अदालतमा दिए निवेदन
नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिएका छन् सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविले आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेकाले जिल्ला अदालतको आदेश बदरको माग गर्दै लामिछानेले आज उच्च अदालतमा निवेदन दिएका हुन् ।
रवि लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले निवेदन दिएकी हुन् । उनले सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछानेको छुट्टै बिगो तोकेर त्यसबापत बैंक जमानत लिइ थुनाबाहिरै राखेर मुद्दा लड्न दिन माग गर्दै निवेदन दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । निकिताले सरकारले झुटा मुद्दा लगाएर फसाएको आरोप लगाउँदै कारागारामा रविको जीवन सुरक्षित नरहेको उल्लेख गरेकी छन् ।
सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै दिएको निवेदन जिल्ला अदालत रूपन्देहीले बदर गरेको थियो । उक्त निवेदनमाथि बुधवारलाई पेशी तोकिएको बताइएको छ ।