२४ अगस्तको मुम्बईमा महासंघले भव्यरुपमा तीज कार्यक्रम मनाउने


नेपाल दर्पण, मुम्बई ।
तीजको रौनक अहिले नेपालभर मात्र नभएर विदेशमा पनि फैलिएको छ । नेपालमा सरह विदेशमा रहेका महिलाहरुले पनि तीज मनाउदै आएका छन । खासगरि विदेशमा महिलाहरुलाई लक्षित गर्दै विभिन्न संघसंस्थाहरुले तीजको कार्यक्रम आयोजना गर्ने गरेका छन । यसै क्रमलाई निरन्तरता दिदै प्रवासमा खासगरि मुम्बईमा रहेको सबैभन्दा ठूलो सामाजिक संगठन संयुक्त नेपाली महासंघ मुम्बईले पनि भोली आइतवार थानास्थित घोडबन्दर, ओवाला नाका, जिबी रोड स्थित प्रिसिया, व्यानक्युट हलमा भव्य तीज कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रम दिउँसो ३ बजेदेखि शुरु हुनेछ ।
यस वर्षको हरितालिका तीज मुख्यतया भाद्र शुक्ल तृतीया अर्थात् मंगलबार, भदौ १० गते, २०८२ (अगस्ट २६, २०२५) मा परेको छ तर प्रवासमा सबैको काम व्यस्तता र समयलाई मध्य नजर गर्दै दुई दिन अघि कार्यक्रम आयोजना गरिएको महासंघका महासचिव विष्णु काफ्लेले नेपाल दर्पणलाई बताएका छन । महासंघले हरेक वर्ष आयोजना गर्ने तीज कार्यक्रममा रातो सारी, पोते र चुरामा सजिएका हजारौं महिला दिदीबहिनीहरुको ठूलो भीड लाग्ने हुनाले त्यहि हिसाबले व्यवस्थापनको विशेष तयारी भैरहेको पनि महासचिव काफ्लेले बताए । कार्यक्रमलाई भव्य र सभ्यरुपमा सपन्न गर्नका लागि पदाधिकारीहरु लागि परेको पौडेलले थपे ।
स्मणरहोस महासंघले विगत ४०–४५ वर्षदेखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेको छ । प्रवासमा रहेरपनि नेपाली कला संस्कृतिको प्रवर्धन, सम्बद्र्धन गर्दै आइरहेको महासंघले वर्षभरि अन्य विविध कार्यक्रमहरु पनि आयोजना गरिरहन्छ । महासघले हरेक वर्ष नयाँ वर्षमा सत्यनारायणको महापुजा तथा लाख बत्ति बाल्ने, तीजको निःशुल्क दरखाने कार्यक्रम आयोजना गर्ने, मुम्बईमा रहेका जेहेनदार विद्यार्थीहरुलाई निशुल्क नोटबुक वितरण, तथा स्कलरशिप प्रदान, रक्तदान, खेलखूद, दुर्गा पुजा, अन्तराष्ट्रिय महिला दिवस मनाउनुका साथै रोगी तथा विरामीहरुलाई बेलाबेलामा आर्थिक मद्दत पनि गर्ने गरेको छ । यतिमात्रै हैन, मुम्बईमा कुनै नेपालीलाई अप्ठेरो परेको खण्डमा राजदूतावाससँग सहकार्य गरेर मद्दत पनि गर्ने गरेको छ ।
काफ्लेका अनुसार भोली हुन गइरहेको उक्त कार्यक्रममा चर्चित कलाकारहरुपनि सहभागि हुने भएका छन । कार्यक्रममा राष्ट्रिय स्तरकी गायिका सुनीतामी परियार र कलाकार नीतु कोईराला उपस्थित हुने भएका छन । तीजमा खासगरि महिलाहरूले आफ्ना सुख–दुःख, सामाजिक चुनौती र पारिवारिक सम्बन्धबारे खुलेर कुरा गर्ने माध्यमको रूपमा लिने हुनाले र नेपालमै भएको खण्डमा धेरै महिलाहरू दर खानका लागि माइती जाने गर्छन् तर त्यो प्रवासमा संभव नभएको हुनाले महिलाहरुलाई माइतीको खल्लो नलागोस भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिदै आएको काफ्लेले बताएका छन । तीजमा विशेष गरि महिलाहरूले आफ्ना भावना, गीत र नाचलाई परम्परागत रूपमा प्रस्तुत गर्छन् ।
तीजको अघिल्लो दिन अर्थात् भदौ ९ गते सोमबार दर खाने दिन हो । यस दिन महिलाहरू माइती वा आफन्तको घरमा भेला भई मीठा परिकारका साथ दर खाई भोलिपल्टको व्रतका लागि तयारी गर्छन् । तीजले विवाहित महिला र उनका परिवारबीचको भावनात्मक सम्बन्धलाई उजागर गर्छ । अहिले नेपालमा मात्रै हैन, नेपाल बाहिर पनि तीजको माहोल उस्तै छ । अस्ट्रेलिया, अमेरिका र युरोपका विभिन्न शहरहरूमा रहेका नेपाली समुदायले तीजका विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिरहेका छन् ।