शिक्षा विधेयक पारित, ३ दलको फरक मत,विद्यालयका सञ्चालकहरू विरोधमा

नेपाल दर्पण, काठमाडौं ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । बिहीबार बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको हो । अब बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक पेस गर्ने तयारी गरिएको छ । विधेयक पारित हुँदा विपक्षी दहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका छन् । विधेयक उनीहरूको फरक मतसहित पारित भएको हो ।

बैठकमा पूर्वशिक्षामन्त्रीसमेत रहेकी सुमना श्रेष्ठले ईसीडी कार्यकर्तालाई शिक्षक मान्नुपर्ने बताएकी थिइन् । राप्रपाकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदै लिनुपर्ने तर्क गरेकी थिइन् । यता, विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजि विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलामा ब्यानरसहित प्रदर्शन गरेका हुन् । विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आआफ्ना ब्यानरसहित विरोध प्रदर्शनमा आएका थिए । उनीहरूले सडकमै ब्यानर राखेर प्रदर्शन गरेका छन् । त्यस क्रममा ब्यानर नटेक्न माइकिङ गरिएको भए पनि शिक्षकहरू नै ब्यानर टेक्दै हिँडेका थिए । नयाँ बानेश्वर चोकसम्म ¥याली निकाली पुनः माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने जानकारी दिइएको छ ।

प्याब्सन, एनप्याब्सन र हिसानले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरूले विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० प्रतिवेदनमा नीजि विद्यालयले १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने प्राबधान र निजी सञ्चालकमा रहेका विद्यालयलाई क्रमशः गैर–नाफामूलक राखिएकोले त्यसलाई हटाउनु पर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *