दुर्गा प्रसाईंले गरे राजनीतिक दल खोल्ने घोषणा


नेपाल दर्पण, काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन । आफूले खोल्ने राजनीतिक दल राजावादी नहुने बताएका छन् । एक पत्रकार पत्रकार सम्मेलन गर्दै प्रसाईंले अब आफू राजनीतिमा होमिने बताएका हुन ।
‘केही समयभित्र दलको नाम घोषणा गर्छौं। सबै नराम्रो भइसकेपछि मान्छे आत्तिएका छन् । नेपाल र नेपालीको धरातल हेरेर हामीले राजनीति गर्नुपर्छ ।’ उनले भने, ‘म राजनीति गर्ने मान्छे होइन जबर्जस्ती राजनीतिमा ल्याइयो ।’ आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू दल खोलेर राजनीतिमा आउने निष्कर्षमा पुगेको उनले बताए ।
‘मेरो राजावादी हुँदैन राष्ट्रवादी दल हुन्छ ।’ उनले भने, ‘नेपाल र नेपालीको दल हुन्छ। सर्वहारा वर्ग र भुईंमान्छेको दल हुन्छ ।’ तीनकुनेमा भएको राजावादी आन्दोलनपछि पक्राउ परेका प्रसाईं दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका हुन् । अब राजसंस्था फर्कने वा नफर्कने विषय आफूमा केन्द्रित नरहेको भन्दै उनले त्यो पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै छाड्नुपर्ने बताए ।
‘म कुनै ठग होइन, कसैको चार आना लिनु छैन, केटी काण्ड छैन । लाउन सक्ने कुनै अभियोग छैन । सबै लाए, सबैबाट पास भएको मान्छे हो । ‘अकबरे सुन हुँ जहाँ लगेर घोट्दा पनि पहेँलै आउँछ । घोटेर पानी खानुहुन्छ कि, कानमा गहना बनाएर लगाउनुहुन्छ । के गरेर तपाईंहरूले मलाई सदुपयोग गर्नुहुन्छ । आउनुहोस् देश बनाउने अभियानमा जुटौं ।’ उनले भने ।