थानामा १७ अगस्तको सगरमाथा फाउण्डेशनले भव्य तीज कार्यक्रम गर्दै


नेपाल दर्पण, मुम्बई ।
गत केहि वर्षदेखि तीव्र रुपमा सामाजिक तथा कला क्षेत्रमा आफ्नो भूमिका निभाउदै आएको सगरमाथा फाउण्डेशनले तीजको अवसरमा भोली १७ अगस्तको तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । प्रायः चाडपर्वमा रमाइला कार्यक्रमहरु आयोजना गर्दै आइरहेको यस फाउण्डेशनले समय–समयमा विभिन्न सामाजिक कार्यसमेत गर्दै आइरहेको छ ।
भोली मुम्बईको नजिकै थानाको कोपरी स्थित मंगला हलमा आयोजित हुन गइरहेको उक्त तीज विशेष कार्यक्रममा महिला दिदी–बहिनीहरुले विभिन्न तीज गीत तथा अन्य लोकप्रिय गीतहरुमा नृत्य गरेर तीज मनाउनुको साथै खुशीयाली साटासाट गरुन भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष सुनिल बरालले नेपाल दर्पणलाई बताएका छन । यसभन्दा अघिल्ला वर्षहरुमा पनि फाउण्डेशनले तीज कार्यक्रममा आयोजना गर्दै आएको र कार्यक्रममा मुम्बई आसपासका महिला दिदी–बहिनीहरुले उपस्थिती जनाएको अध्यक्ष बरालले बताए । बरालका अनुसार कार्यक्रम समयमै शुरु हुनेछ र स्थानिय सानासाना भाइबहिनी कलाकारहरुले आ–आफ्नो गायन तथा नृत्यमार्फत झाँकीहरु पनि प्रस्तुत गरि कार्यक्रमलाई मनोरञ्जक बनाउने छन् ।
स्मरण रहोस, यस फाउण्डेशनले यस क्षेत्रका बेराजगारी दिदी– बहिनीहरुलाई विभिन्न प्रकारका प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर रोजगारका लागि दक्ष समेत बनाउँदै आएको छ । फाउण्डेशनले नेपाली कला सँस्कृतिको जर्गेना गर्नुका साथै विभिन्न दक्ष कार्यक्रमहरु जस्तै, सिलाई कटाई, हाउस किपिङ, मेडिकल चेकअप जस्ता कार्यक्रमहरु गर्दै आएको छ र भविष्यमा सामाजिक क्षेत्रमा यस्ता अन्य कार्यक्रमहरु थपिदै जाने अध्यक्ष बरालले बताएका छन ।