आज ‘श्रीकृष्णजन्माष्टमी’, भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईंदै

नेपाल दर्पण, काठमाण्डौं ।

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईंदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । विश्वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।


आजको रातलाई मोहरात्रि भनिन्छ । आध्यात्मिक रूपमा अज्ञान, अंहकार र लोभलाई हटाई धर्म, ज्ञान र प्रेमको स्थापना भएको रातको रूपमा बुझिन्छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रूपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृति स्वरूप आजको दिन यो पर्व मनाउने गरिएको हो ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

यस अवसरमा आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्छ । कृष्णमन्दिरमा भगवान कृष्णको दर्शनका लागि बिहानैदेखि भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *