बहुविवाहलाई मान्यता दिनेगरी सरकारले कानुन ल्याउदैनः ओली


नेपाल दर्पण, काठमाण्डौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता दिनेगरी सरकारले कानुन नल्याउने बताएका छन् । ‘बहुविवाहलाई मान्यता दिने विषय संवेदनशील भएर उठेको देखिन्छ । सामाजिक जागरण, सामाजिक न्याय र महिला हकअधिकारका लागि लडेर ल्याएका पार्टीहरूले बहुविवाहलाई मान्यता दिनेगरी कानुन ल्याउँछ भन्ने कसरी लाग्यो ? हल्ला कसले चलायो? मैले थाहा पाएको छैन । सरकारले थाहा पाएको छैन । कहाँबाट आउँछ ?’ उनले भने, ‘सभामुख महोदयमार्फत म सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु बहुविवाहलाई मान्यता दिनेगरी कानुन बनाउन लागिएको छैन । प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलाइएको बताए ।
यस्तै, ओलीले सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने संकल्पसहित अघि बढिरहेको बताएका छन् । उनले देशका विभिन्न भागमा आएका बाढी पहिरो, खडेरीजस्ता विपत्तिहरूका वाबजुद आर्थिक तथा सामाजिक विकासका सूचकहरूमा आएको सकारात्मक परिवर्तनले मुलुक सुशासन र समृद्धिको दिशातर्फ उन्मुख भएको प्रष्ट भएको बताए । उनले वर्तमान सरकारले एक वर्षको समयमा जनताका आशा र अपेक्षा पूरा गर्न हरसम्भव प्रयास गरेको बताए । आर्थिक वर्ष २०८२÷०८३ को लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन गर्दै सरकार आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको लक्ष्य प्राप्तिका लागि काम गरिरहेको उनले दाबी गरे ।