कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा


नेपाल दर्पण, काठमाण्डौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई बुझ्न नसकेका र राजसंस्थाबाट पनि बीपीलाई बुझ्ने सवालमा कमजोरी रहेको बताएका छन । राजसंस्थाले बीपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था हाल नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गरेका छन् । ४३ औं बीपी स्मृति दिवसका अवसरमा मंगलबार (साउन ६) काठमाडौंको वसुन्धरामा आयोजित एक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
‘राजा र मेरो गर्धन जोडिएको छ’ भन्ने बीपीको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको उनले उल्लेख गरे । त्यसको परिणामस्वरूप नेपालमा राजसंस्था अन्त्य भएको उनको भनाइ थियो । बीपी कोइरालालाई बुझ्ने विषयमा देशमा धेरै नै कमजोरी भएको उनले बताए । कांग्रेसले पनि बीपीलाई उचित ढंगले बुझ्न नसकेको उनले उल्लेख गरे ।
यस्तै शर्माले बर्तमान सरकारमाथि हमला बोल्दै भूमिसम्बन्धी विधेयकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै अनावश्यक दबाब दिएको बताएका छन् । भूमि विधेयकमा प्रधानमन्त्रीको दबाबमा भूमि व्यावस्था तथा सहकारी विकास मन्त्री बलराम अधिकारीले अनावश्यक हतारो गरेको बताएका हुन् । उनले कांग्रेसले एमालेसँग गठबन्धन गरेकै भरमा ‘जे आउँछ मजाले पचाउँछ’ भन्ने होइन भन्दै आवश्यक छलफल र समितिमा छलफल नभई भूमि विधेयक पास नहुने दाबी गरे ।
महामन्त्री शर्माले समितिबाट पास भइसकेको निजामती सेवा विधेयकमा एमालेका सांसदले संशोधन हालेकोमा असन्तुष्टि जनाए । उनले यसैका कारणसरकार नै तलमाथि हुनसक्ने चेतावनी दिए । निजामती कर्मचारीको ‘कुलिङ पिरियड’ दुई वर्षको राख्दै राज्य व्यवस्था समितिबाट पारित भएको विधेयक संसदमा आइपुग्दा छेडखानी गरेर हटाइएको भन्दै चर्को विरोध हुँदै आएको छ ।