जसपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता


नेपाल दर्पण, काठमाण्डौं ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा नेपालकी सांसद अम्बिका काफ्लेले लुम्बिनी प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् । काफ्ले समानुपातिक सांसद हुन् ।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराएकी हुन् ।
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको छ । संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिनुभन्दा पहिला नै लुम्बिनीबाट जसपा नेपाल बाहिरिएको हो । गठन हुँदाको शर्तअनुसार सरकारले काम गर्न नसकेको, संविधान संशोधनको एजेण्डा ओझेलमा परेको भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले समर्थन फिर्ता लिन बताएका थिए ।