गृहमन्त्रीको राजीनामा मागबाट पछि हट्यो रास्वपा

नेपाल दर्पण, काठमाण्डौं ।

भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिन समिति बनाउनुपर्नेलगायत माग राखी विपक्षी दलहरूले संसद्मा अवरोध गर्दै आएका छन् । यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि रहेको थियो तर अहिले रास्वपा गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेको छ । उसले सत्तारूढ दल नेपाली कांग्रेसलाई पत्र लेख्दै भिजिट भिसा प्रकरणको नीतिगत तथा व्यवहारिक समस्याबारे विस्तृत अध्ययनका लागि संसदीय छानबिन समिति बनाउन प्रस्ताव गरेको छ ।

पाँच बुँदामा समेटिएको प्रस्तावमा अख्तियारको अनुसन्धानलाई असर नगर्ने गरी संसदीय छानबिन गर्नुपर्ने भनिएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभाको बैठक निरन्तर अवरोध हुँदै आएको छ । रास्वपाले यसअघिका वार्ताका आधारमा सहमतिको खाका तयार गरी कांग्रेसलाई पठाएको हो । जसमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नताका विषयमा बहुआयमिक अनुसन्धान गर्न पाँच दिनभित्र उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने प्रस्ताव गरेको छ ।

उक्त समितिको कार्यक्षेत्र, संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गर्नुपर्ने प्रस्ताव छ। त्यस्तै, कार्यसम्पादन समितिले छानविन समितिको कार्यविधि पाँच दिनभित्र तयार गरी समिति गठन गर्ने र कार्यारम्भ गर्नुपर्ने प्रस्ताव गरेको छ । रास्वपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग र सहजीकरण गर्नुपर्ने समेत प्रस्ताव गरेको छ ।

त्यस्तै, छानविन समिति गठन, अनुसन्धान प्रक्रिया र अध्ययन प्रतिवेदन सार्वजनिक गर्दा पारदर्शिताको उच्च मापदण्ड अपनाउनुपर्ने प्रस्ताव गरेको छ । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभामा १३ जेठदेखि जारी अवरोध जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *