भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग, संसद अवरोध


नेपाल दर्पण, काठमाण्डौं ।
प्रतिनिधि सभा बैठकमा आज पनि प्रतिपक्ष दलले विरोध जनाएको छ । बैठक सुरू हुने बित्तिकै प्रतिपक्ष दलहरूले उभिएर विरोध जनाएका हुन् । सभामुखले आधा घण्टाका लागि बैठक स्थगित भएको घोषणा गरे । भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको संग्लनता रहेको भन्दै प्रमुख प्रतिपक्ष दलहरूले उनको राजीनामा माग गरेका छन् ।
मंगलबार पनि प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने बताएका थिए । जसले गर्दा मंगलबार बैठक स्थगित भएको थियो । गृहमन्त्री रमेश लेखकले ‘भिजिट भिसा प्रकरण’मा आफूमाथि उठिरहेका प्रश्नको बुधवारै धारणा दिने तयारी गरेका छन् । लेखकले सम्भव भए प्रतिनिधिसभा बैठकमै धारणा राख्ने र नभए साँझ पत्रकार सम्मेलन गरेर भए पनि आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।
गृहमन्त्री लेखकले यसअघि मङ्गलवार प्रतिनिधिसभामा आफ्नो जवाफ दिने तयारी गरेका थिए । त्यसका लागि उनले सभामुख देवराज घिमिरेसँग समय पनि मागिसकेका थिए । तर, विपक्षी दलले अवरोध गरेर बोल्न दिएनन्। जसले मङ्गलवारको बैठक स्थगित भयो । सत्ता पक्षले गृहमन्त्री लेखकलाई बोल्न दिनुपर्ने अडान राखिरहेका छन् भने विपक्षीले राजीनामा सर्त तेस्र्याएर बोल्न नदिने अड्डी कसेका छन् ।