विद्यार्थी संगठन आबद्ध युवाहरुले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा


नेपाल दर्पण, काठमाण्डौं ।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माइतीघरमा युवा, विद्यार्थीले मंगलबार प्रदर्शन गरेका छन् । वाईसीएलले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले नालायक प्रधानमन्त्री राजीनामा दे, नालायक गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, मानव तस्कर सरकार मुर्दावाद आदि लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिस्ट लिग नेपाल र युवा संगठन नेपालले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहविरुद्ध विरोध प्रदर्शन गरेका थिए । गृह मन्त्रालयले बनाएको मापदण्डको आडमा अध्यागमनका कर्मचारीले अनावश्यक दुःख दिएर भिजिट भिसामा जाने नेपालीबाट लाखौं असुल्ने खेल संस्थागत रूपमा चल्दै आएको पाइएपछि अहिले गृहमन्त्री लगायतलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग उठिरहेको छ ।
गृहले नेपालीलाई युरोप, एसिया र अफ्रिकाका विभिन्न मुलुकमा भिजिट भिसामा जानलाई ‘कठोर प्रावधान’ सहितका मापदण्ड जारी गरेपछि केही वर्षदेखि नै विकल्पका रूपमा ‘सेटिङ’ मिलाएर तस्करी गर्ने गरेको देखिएको हो । मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतबाट गत मंगलबार साँझमात्रै गृह मन्त्रालय तानिएका सहसचिव भट्टराईलाई आयोगले बुधबार सोधपुछका लागि नियन्त्रणमा लिएर रिहा गरेको छ । उक्त घटना छानबिन गर्नुपर्ने, गृहमन्त्री लेखकले राजीनामा दिनुपर्नेलगायत माग राखी मंगलबार प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा समेत अवरोध गरे । विद्यार्थी संगठन आबद्ध युवाहरुले भिजिट भिसा प्रकरण छानबिन, दोषीलाई कारबाहीलगायत मागसहित प्रदर्शन गरेका हुन् ।