विद्युत गयो भन्नेलाई कानूनी दायरामा ल्याउने उजामन्त्रीको चेतावनी


नेपाल दर्पण, काठमाण्डौं ।
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत नगएको समयमा पनि बत्ती गयो भन्नेहरूलाई कानूनी दायरामा ल्याउने चेतावनी दिएका छन । उनले विद्युत जानु नेपालमा विद्युत कम भएर नभइ विपद्जन्य घटनाले पारेको अवरोध रहेको बताए । उनले सरकार उपभोक्ताले सुरक्षित र भरपर्दो विद्युत पाओस् भन्ने चाहनाअनुसार काम गरिरहेको बताए । उनले कृत्रिम कुराहरू प्रचार प्रसार गरेर बत्ती छैन भन्ने भ्रम फैल्याइएको बताए ।
मन्त्री खड्काले नेपालले अहिले विद्युत आयात गर्न नपरेको भन्दै नेपालकै विद्युत बढी भइरहेको बताए । उनले विगतको भन्दा राम्रोसँग विद्युत आपूर्ति भइरहेको दाबी गर्दै हल्लाको पछि नलाग्न आग्रह गरे । आइतवार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।
मन्त्री खड्काले नो लाइट शाखामा विद्युत आपूर्ति भइरहेको भएपनि नभएको भन्दै फोन आउने गरेको र क्रस चेक गर्दा बत्ती रहेको पाइएको बताए । आतंक फैल्याउने र दुःख दिने हिसावले टेलिफोन गर्नेहरूको नम्बर नोट गरेर प्रहरीलाई दिन आग्रह गरे । मन्त्री खड्काले आवश्यकताका आधारमा बजारको मूल्य निर्धारित हुने बताए । नेपालले आवश्यकताअनुसारको विद्युत आपूर्ति गरिरहेको उनको तर्क छ ।