नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्व पौडेललाई नियुक्त


नेपाल दर्पण, काठमाडौं ।
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ । पौडेल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका हुन । मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १८औं गभर्नरमा डा. पौडेललाई नियुक्त गर्ने निर्णय लिएको हो ।
मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । मन्त्रिपरिषद् बैठकमा सिफारिश समितिले तीन जनाको नाम पेश गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्रु बैठकले उनलाई गभर्नरमा नियुक्त गरेको हो ।
केहीबेर अघि मात्रै अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले डा. विश्व पौडेल, कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिस भए अनुसार मंगलवार साँझ बसेको मन्त्रिपरिषद्रु बैठकले १ नम्बरमा सिफारिस भएका पौडेललाई गभर्नर नियुक्त गरेको हो । गभर्नरबाट महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली थियो ।