राजतन्त्र कुनै हालतमा फर्किदैनःओली


नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र कुनै हालतमा नफर्किने बताएका छन । ओलीले राजतन्त्र फर्काउने प्रतिगमनकारीको प्रयास असफल हुने शिवाय केही हुने छैन भनेका छन । उनले अब नेपालमा कुनै प्रकारको प्रतिगमन सम्भव नभएको र स्वीकार्य नहुने बताउँदै आफ्नो नेतृत्वको सरकारको समयमा मुलुक अग्रगमणको सुनिश्चिततामात्र सम्भव रहेको बताए । ओलीले एमालेको नेतृत्वलाई बदनाम गरेर ढाल्न सके पार्टी ढाल्न सकिन्छ भन्ने तत्वहरूले व्यक्ति केन्द्रित गरेर अनेक षड्यन्त्र र प्रहार गरे पनि एमाले हरेक परिस्थितिको सामना गर्न तयार रहेकाले कार्यकर्ताहरूलाई एकताबद्ध भएर ढुक्कका साथ अघि बढ्न आग्रह गरे ।
विगतमा आफूले सरकारको नेतृत्व गर्दा पार्टीभित्रकै विग्रहवादी तत्वका कारण सरकार ढाल्ने र अदालतको आदेशबाट सरकार गठन गराउने गलत अभ्यास भएको उनले स्मरण गरे । सही विचारविना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन् । एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२ औं स्मृति दिवसका अवसरमा आज (शनिबार) मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरुलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिएका हुन् ।
प्रधानमन्त्री ओलीले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजिएको उल्लेख गर्दै देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई एमालेले कहिल्यै नछोडेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले जननेता भण्डारी कम्युनिष्ट आन्दोलनलाई समयानुकूल रुपमा हाँक्ने नीतिकार रणनीतिकार भएको स्मरण गर्दै विश्वमा कम्युनिष्ट आन्दोलन धराशयी हुँदै गएका बेला जबजको वैचारिक अगुवाइमा पार्टीलाई लोकप्रिय र क्रमशः दुई तिहाइको अवस्थासम्म पुर्याएको बताए । ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार आवश्यक भएको बताएका छन् ।