झ्याप्प झ्याप्प विद्युत जान लाग्यो, देशभरि अन्धकार


नेपाल दर्पण, काठमाडौं ।
नेपालमा झ्याप्प झ्याप्प विद्युत जान लागेको छ । कारण भने भारतबाट नेपालमा आयात गरिएको बिजुली लाइनमा समस्या बताइएको छ । बिहीबार बेलुका कम्तिमा डेढ घण्टा काठमाडौंसहित पोखरा, मध्य र पूर्वी नेपालका सबैजसो एरियाका बिजुल गुल भएको थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार, हाल भारतबाट बिजुली आयात भइरहेको चार सय केभी ढल्केबर–मुजप्फरपुर लाइनमा समस्या आएको थियो । समस्या नेपालतर्फ नभइ भारततर्फ नै आएको प्राधिकरणले जनाएको छ ।
प्रणालीमा समस्या देखिएपछि नेपाल विद्युत् प्राधिरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य समाधानका लागि आफैं खटिएको जनाएका छन् । उनका अनुसार, समस्या आउनासाथ भारतबाट सहयोग मागेर समाधान गरिएको थियो ।“ठूलो हावाहुरीका कारण प्रशारणलाइनमा समस्या आएका कारण बिजुलीको लाइन गएको हो,” शाक्यले भने ।
तर प्राधिकरणका उच्च अधिकारीका अनुसार चितवन पश्चिमतिर पनि बिजुली गएको थियो । “पश्चिम नेपालतिर केही स्थानमा बिजुली थियो, बाँकी स्थानमा थिएन,” ती अधिकारीले भने । क्रस बोर्डर लाइनमा समस्या आएको हुँदा लाइन गएको प्राधिकरणको प्रतिक्रिया छ । “यो विशुद्ध प्राविधिक समस्या हो,” प्राधिकरणले भनेको छ । यसैबीच सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकार र नेपाल विद्युत् प्राधिकरणको चर्को आलोचना गरेका छन् । शाक्यको सचिवालयले यो प्राविधिक समस्या भएकाले यसलाई लोडसेडिङसँग जोड्न नहुने जनाएको छ ।