राजावादी भए एकजुट, त्रसिए गणतन्त्रवादी !


नेपाल दर्पण, काठमाडौं ।
राजावादी आन्दोलनका लागि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापाको नेतृत्वको राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बिपी), शिव सेना नेपाल, नेपाल प्राज्ञिक मञ्चलगायत समूह पहिलोपटक एकै ठाउँमा उभिएका छन् । विभाजित अवस्थामा रहेका उनीहरू पछिल्लो समय एकठाउँ आएका मात्र छैनन्, राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना गरिछाड्ने भन्दै संयुक्त आन्दोलन नै घोषणा गरेका छ । गत चैत १५ गतेको तीनकुने प्रदर्शन हिंसात्मक बनेपछि सेलाएका उनीहरु पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रमुख नेताहरूको बेग्लाबेग्लै भेटपछि फेरि जुरमुराएका हुन ।
उनीहरू पूर्वपञ्चनेता नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ मार्फत आन्दोलनमा जाने तयारीमा छन् । यसअघि संयुक्त समितिमा रहन अस्वीकार गरेका राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष थापा, राजावादी नेता केशरबहादुर विष्टलगायत पनि सोही छातामा बस्न तयार भइसकेका छन् । एकठाउँमा आएका राजावादीहरूले गणतन्त्र स्थापनाको दिन १५ जेठदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्। लक्ष्य पूरा नभएसम्म आन्दोलन जारी राख्ने उद्घोष उनीहरूको छ ।
राजावादीहरूले एक भएर अनिश्चितकालीन आन्दोलन घोषणा गरेपछि आफूलाई गणतन्त्रवादी भन्ने दलहरू फेरि आक्रामक हुन थालेका छन् । गत १५ चैतको प्रदर्शन हिंसात्मक बनेपछि राजावादी आन्दोलन तुहिएको ठानेर केही शान्त भएका गणतन्त्रवादीहरू फेरि राजावादीहरूको सलबलाहटसँगै तिखो प्रहारमा उत्रिएका हुन् । यसअघि संयुक्त जनआन्दोन समितिका सदस्य डा.जगमान गुरुङले अगामी जेठ १५ गते लोकतान्त्रिक गणतन्त्र ढल्ने र राजसंस्था पुनस्र्थापना हुने दावी गरेका थिए । अहिले एक ठाउँमा उभिएर जेठ १५ देखि नै आन्दोलन घोषणा गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले राजावादीहरूलाई त्यसो भनेका हुन् ।
आइतवार नै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ’प्रचण्ड’ले पनि राजावादीहरूलाई चेतावनी दिए । धरानमा आयोजित किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा उनले ‘खबरदार’ भन्दै राजावादीहरूलाई आन्दोलनमा नउत्रन चेतावनी दिए । उनले भने, ‘सुनारको सय चोट, लोहारको एकै चोट भनेजस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको छ । अहिले फेरि अर्को बेलुनमा हावा भर्ने रे जेठ १५ गतेदेखि। खबरदार, त्यो हुनेवाला छैन ।’
सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पूर्वराजालाई चुनाव लडेर राजनीतिमा आउन चुनौती दिएका थिए । पूर्वराजा ज्ञानेन्द्र संवैधानिक राजा बन्नलायक पनि नरहेको टिप्पणी उनको थियो । यद्यपि पछिल्लो समय भने उनले पूर्वराजाविरुद्धको चर्को टिप्पणी गरेका छैनन् ।