राजसंस्था ल्याउन अनिश्चितकालीन आन्दोलनको घोषणा, गृहमन्त्रीले दिए राजावादीलाई चेतावनी


नेपाल दर्पण, काठमाडौं ।
राजावादीहरूले आउँदो जेठ १५ गतेदेखि राजसंस्था ल्याउन अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेसँगै गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि सह्य नहुने बताएका छन् । बिहीवार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
उनले नै आन्दोलनको नेतृत्व लिने भएका छन । उनले आन्दोलन भने शान्तिपूर्ण हुने जनाए। भद्र अवज्ञा र सत्याग्रह पनि हुने उनले बताए । निरकुंशता र सर्वसत्तावादको अन्त्य गरी जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यवहारिक रूपमा देशको मालिक भएको अनुभूति दिलाउनु आन्दोलनको मुख्य उद्देश्य रहेको पनि उनले बताए ।
उता राजावादीहरुले आन्दोलनको घोषणा गरेसँगै तीनकुने घटनामा पक्राउ परेकाहरूका विषयमा उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले बिना कुनै पूर्वाग्रह आवश्यक अनुसन्धान भइरहेको बताएका छन । ‘तीनकुने क्षेत्रमा पूर्वराजाका सर्मथकले गरेको प्रर्दशनका क्रममा विध्वंशात्मक घटनालाई सरकारले अत्यन्तै गभ्मीरतापूर्वक लिएको छ । संविधानविरोधी गतिविधि कुनै हालतमा सह्य हुनेछैन। घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर बिना कुनै पूर्वाग्रह आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको छ,’ सदनलाई उनले जवाफ दिए ।
संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानुनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन र संघीय लोकतान्तिक गणतन्त्रामक अधिकारको निर्वाध उपयोग गर्न पाउने वातावरणको निर्माण गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । तीनकुने घटना नियोजितरूपमा आतंक र अराजकता फैलाउने मनसायले गरिएको कुरामा कुनै विवाद नरहेको बताए । ‘आफ्ना असहमतिहरू शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार सबैलाई संविधानले दिएको छ । तर, अराजक शैलीमा भएको लुटपाट, तोडफोड र आगलागी तथा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास अक्षम्य र भत्र्सनायोग्य छ,’ उनले भने ।