भारतले पाकिस्तानमाथि गर्यो हमला, नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता


नेपाल दर्पण, काठमाडौं ।
भारतले पाकिस्तानमाथि हमला गरेपछि नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । भारत–पाकिस्तानबीच तनाव बढेपछि नेपालले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको हो । सिंहदवारमा बुधबार गृहमन्त्री रमेश लेखको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा यस विषयमा छलफल भएको थियो ।
भारतले पाकिस्तानमाथि आक्रमण गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको छ । आक्रमणमा परी कम्तीमा ४६ जना घाइते भएको विभिन्न एजेन्सीहरूले उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सुरक्षा परिषद्को बैठक बोलाएका छन् । नेपालको सुरक्षा रणनीतिका विषयमा छलफल गर्न उनले सुरक्षा परिषद्को बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ । बैठक सिंहदरवारमा बसिरहेको छ ।
गृहमन्त्री लेखकले बुधबार तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सीमा क्षेत्रको सुरक्षाका विषयमा छलफल गरेका थिए । भारत–पाक तनावले नेपालमा पार्नसक्ने असर कम गर्न गृहमन्त्री लेखकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले पनि सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउने विषयमा छलफल भएको बताए । ’सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन मन्त्रीज्युले निर्देशन दिनुभएको छ,’ उनले भने ।
भारतले गए राति पाकिस्तानमाथि गरेको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरको परिवारका १० सदस्य र चारजना नजिकका सहयोगी मारिएको बताएको छ । यस सम्बन्धमा जैश–ए–मोहम्मद (जेईएम)ले बुधबार एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा मृत्यु हुनेहरूमा मसूद अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरी रहेको उल्लेख छ । जैश–ए–मोहम्मदले मसूद अजहरका तीन नजिकका सहयोगी र ती सहयोगीहरूमध्ये एककी आमा पनि आक्रमणमा मारिएको जनाएको छ ।
विज्ञप्ति अनुसार, पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा मसूद अजहरका आफन्तको मृत्यु भएको हो । फेब्रुअरी २०१९ मा जैश–ए–मोहम्मदले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० भारतीय सैनिक मारिएका थिए । बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६–७ मे २०२५ को राति १ः०५ देखि १ः३० बजेको बीचमा ‘अपरेसन सिन्दूर’ चलाएको बताएकी थिइन् ।
“यो अपरेसन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी आक्रमणको सिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो । यस अपरेसनमा नौ आतंकवादी शिविरहरूलाई लक्षित गरी पूर्णरूपमा ध्वस्त पारिएको थियो,” उनले भनिन् । पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना सर्वसाधारण पाकिस्तानी मारिएको र ४६ जना घाइते भएको बताएको छ । भारतले नियन्त्रण रेखामा सीमापार गोलाबारी हुँदा १० जना भारतीय सर्वसाधारण मारिएको र ३२ जना घाइते भएको बताएको छ ।